राप्रपाले एकता महाधिवेशन वैशाखमा गर्ने,चुनाव चिन्ह हलो

काठमाडौं, असोज ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ।

मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २५–२८ मा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बैठकले राप्रपाको विधानलाई कायम गर्दै आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै बैठकले लामो समयदेखि विवादमा रहेको चुनाव चिन्ह पनि टुंग्याएको छ। नेता श्रेष्ठका अनुसार राप्रपाको झण्डामा गाई हुनेछ भने पार्टीको चुनाव चिन्ह हलो हुने बैठकले निर्णय गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच पार्टी एकीकरण घोषणा भएको ६ महिनापछि चुनाव चिह्न हलोमा सहमति भएको छ । राप्रपा समूहहरूबीच २४ फागुनमा भएको पार्टी एकीकरणसम्बन्धी लिखित समझदारी भए पनि निर्वाचन चिह्न गाई हुने कि हलो हुने भन्ने विवादका कारण निर्वाचन आयोगमा पार्टी दर्ता नै हुन सकेको थिएन ।

अब राप्रपाको पुरानो दर्तालाई कायम राखिएको जानकारीसहित विधान संशोधन गरेर निर्वाचन आयोगमा निवेदन दिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्