चिनियाँद्वारा नेपाली भूमि अतिक्रमित, दूतवास अगाडि युवाहरूको प्रदर्शन

काठमाडौँ, असोज ७ । हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको समाचार सार्वजनिक भएका छन् ।

नेपाली भूमि अतिक्रमण भएको खबर सार्वजनिक भएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वको टोलीले स्थलगत अवलोकन पनि गरेको थियो ।

तर, चीनले भने नेपाली भूमि अतिक्रमण नगरेको बताइसकेको छ । नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै उक्त भवनहरू बनिएको क्षेत्र चीनकै भएको र नेपाली भूमि अतिक्रमण नभएको दाबी गरेको छ ।यता राप्रपा अध्यक्ष कमल थापाले अतिक्रमित नेपाली भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन माग गरेका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएको समाचार सार्वजनिक भएपछि थापाले ट्वीट गर्दै तत्काल त्यसबारे सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले ट्वीटमा लेखेका छन्, ‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमी चीनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ । यसवारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु । साथै, अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्नसमेत प्रमको ध्यान आकर्षित गर्दछु।’

आजै उनले अर्को ट्वीट मार्फत सरकारको काममा पार्टीले हस्तक्षप गर्न नहुने धारणासमेत सार्वजनिक गरेका छन् । यसैबीच नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरूले काठमाडौँस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

‘सीमा अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘चिनियाँ साम्राज्यवाद मुर्दावाद’, ‘सीमा नाका खुला गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका उनीहरूले चीनविरूद्ध प्रदर्शन गरेका हुन् ।

दर्जनौँको संख्यामा युवाहरू प्रदर्शन गर्दै चिनियाँ दूतावासअघि पुगेपछि उनीहरूलाई सुरक्षाकर्मीले रोकेका थिए । दूतावास क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्