मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

काठमाडौं, असोज ७ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यूनचापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्नेक्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो ।यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीन(चार दिन बढ्नसक्ने बताइएको छ ।‘शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ’(मौसमविद् कँडेलले भन्नुभयो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।राति देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नम्बर-१, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकामा ४५.० मिलिमिटर वर्षा भएको छ ।त्यस्तै, पोखरामा ४८.०, धनगढीमा १०.०, दिपायलमा २६.७ सिमरामा ३०.५ र धनकुटामा ४०.० मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्