बाढीपहिरोः ३ दिनमा १७ जनाले गुमाए ज्यान , १५ बढी बेपत्ता, आजदेखि खुल्यो मौसम

काठमाडौं , असोज ९ । निरन्तर वर्षाका कारण ३ दिनमा १७ जनाले ज्यान गुमाएका छन् ।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार असोज ६, ७ र ८ गते आएको प्राकृतिक विपत्तिका कारण १७ जनाले ज्यान गुमाएका हुन् ।

प्राकृतिक विपत्तिका कारण यी तीन दिनमा कम्तीमा १५ जना बेपत्ता भएको केन्द्रको तंथ्याङमा उल्लेख छ ।बिहीबार मात्र बाढीपहिरोका कारण १४ जनाले ज्यान गुमाएका थिए ।यसैबीच तीन दिनयता देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका जनजीवन प्रभावित बनेको छ ।

पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्‍याएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार यसपटक ९० प्रतिशतभन्दा बढी क्षति पहिरोका कारण भएको छ ।यसैबीच काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहानैदेखि मौसम खुलेको छ ।

आजदेखि पानी कम पर्दै जाने पनि मौसमविद्ले बताएका छन् । हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्