कोरोनाबाट बाँके र पर्सामा दुई जनाको मृत्यु

काठमाडौं , असोज ९ । कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा एक–एक जनाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार ६ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दागर्दै ती पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यसैगरी पर्साको वीरगञ्जमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–१ का ७७ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ४५ पुगेको छ ।

मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्