पुनर्निर्माणका लागि भारतले नेपाललाई दियो डेढ अर्ब

काठमाडौं, असोज ९ । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाललाई एक अर्ब ५४ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले उक्त सहयोग रकम बराबरको चेक अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई हस्तान्तरण गरेकी हुन् ।
मंगलबार भारतीय राजदूतावासले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको बिहीबार विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

आवास परियोजना अन्तर्गत भारत सरकारले १५० मिलियन अमेरिकी डलर अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो। यसका लागि यसअघि नै ७२ मिलियन अमेरिकी डलर रकम उपलब्ध गराइसकिएको छ ।

गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास पुनर्निर्माण गर्ने प्रतिबद्धता गरेको भारत सरकारले यस अन्तर्गत अहिलेसम्म ९२ प्रतिशत घरधुरीको पुनर्निर्माण भइसकेको विज्ञप्तिमा जनाएको छ ।
त्यस्तै ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता गर्ने प्रतिबद्धता गरेको छ ।
यस अन्तर्गत पहिलो किस्ता ४।२ मिलियन अमेरिकी डलर बराबरको रकम नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्