देश, जनता र पार्टीको हितमा कार्य गर्न सधैव तत्पर छु, सरकारमा जाने आफ्नो प्राथमिकतामा छैन: नेकपाका नेता रायमाझी

काठमाडौँ । नेकपाका नेता टोपबहादुर रायमाझीले देश, जनता र पार्टीको हितमा कार्य गर्न सधैव तत्पर रहेको र सरकारमा जाने विषय आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् । मन्त्रीमण्डल पुनरगठनको कुरा प्रधामन्त्री कार्यालयबाट आइरहेको अवस्थामा तपाई सरकारमा जाने कुरा के छ, भन्ने जिज्ञासामा नेता रायमाझीले सो कुरा बताएका हुन् ।

संविधान जारी भएका पाँच वर्षको अवधिको समिक्षा गर्न सन्दर्भमा जागरण न्युजसंगको कुरा गर्दै नेता रायमाझिले यसको कार्यान्वयन राम्रोसँग भएको बताएका छन् । संविधान समझौताको दस्तावेज भएको र समय सापेक्ष परिवर्तन तथा संशोधन हुने बताउँदै नेता रायमाझीले आवश्यक ऐन निर्माण भइसकेको र केही ऐन अझै पनि बन्न बाँकी रहेको बताए ।

प्रदेश नं २ का केही नेताले संविधानअनुसार निर्वाचनमा सहभागी भई जनप्रतिनिधि बनेको भएपनि संविधान दिवसका दिन कालो पहिरनमा उपस्थिति भई बिरोध गर्नु गैरसंवैधानिक कार्य तथा जनताप्रति बेइमानी भएको टिप्पणि गरे ।  विभिन्न प्राविधिक कारणले संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति हुन नसकेको बताउँदै अब सरकारले त्यसलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।

मुलुकको विकास र जनताको प्रगतिको बाधक भनेको भ्रष्टाचार भएकाले त्यसलाई नियन्त्रणका लागि सरकारले शुन्य शहनशीलताको नीति अवलम्बन गरेकामा खुसी व्यक्त गरे । बाइडबडी, एम्नी समूह, यति समूहका नाममा सरकार बिबादमा आउन नहुने सुझाव दिँदै त्यसले सरकार र पार्टी दुबैलाई नोक्सान गर्ने बताए ।

 

नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक दल भएकाले यसभित्र समय समयमा बिबाद आउने र छलफलबाट त्यो समाधान हुने उनले बताए । अहिलेलाई बिबाद समाधान भएको भएपनि बैचारिक अन्र्तबिरोध रहीरहने र त्यसमा पनि छलफल हुने विश्वास व्यक्त गरे । गुटको अन्त्य गर्नुपर्नेमा आफू संबेदनशील रहेको भन्दै उनले पार्टी विधिमा चल्ने भएकाले शीर्ष नेताले गर्ने भागबण्डा स्वीकार्य नहुने विचार व्यक्त गरे । कम्युनिष्ट आन्दोलनको कार्यदिशा भनेको समाजवादतर्फउन्मुख हुनु भएकाले त्यसमा नेताहरुले बहश गरिरहेको जानकारी दिए ।

कोभिड–१९ का कारण सरकारले लक्ष्यअनुसारको कार्य हासिल गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उनले भने–‘प्रत्येक नागरिकले कोभिड–१९ बिरुद्ध सङ्घर्ष गरी आर्थिक गतिविधि सञ्चालन गर्न आवश्यक छ ।’ निकट भविष्यमा रोगबिरुद्ध भ्याक्सिन आउने छ, त्यतिन्जेलसम्म व्यक्तिले एकापसमा भौतिक दूरी कायम गर्ने, समाजमा रोगबिरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गर्ने र व्यावसायिक कार्यलाई पनि अगाडि बढाएर अर्थतन्त्रलाई बलियो बनाउनुपर्छ ।

 

पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले नेपाल विद्युत् प्राधिकरणमा योग्य व्यक्तिलाई नेतृत्व जिम्मा लगाउनुपर्छ भनेर आफूले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मापदण्ड र प्रक्रिया निर्माणका लागि भूमिका निर्वाह गरेको बताउँदै कार्यकारी प्रमुखमा कुलमान घिसिङ आएपछि राम्रो कार्य भएकामा प्रशन्नता व्यक्त गरे । हालै घिसिङको कार्यकाल समाप्त भएकाले अब उनलाई नै निरन्तरता दिने या अरु योग्य कसैलाई भनेर निर्णय लिने कार्य सरकारको हो उनले भने ।

प्रतिक्रिया दिनुहोस्