आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न नेता कोइरालाको माग

काठमाडौं , असोज ९ । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै मितिमा गराउन सरकारसँग माग गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा। कोइरालाले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धमा सरकारले गरेका पछिल्ला निर्णयप्रति आफ्नो ध्यानाकृष्ट भएको भन्दै आउँदो असोज २४ मै निर्वाचन गराउन माग गरेका हुन् ।

‘निजामती सेवा ऐन, निजामती सेवा नियमावली र आधिकारिक ट्रेड युनियनको विधान बमोजिमको तत्कालिन कार्यसमितिको कार्यकाल २०७७ साल जेष्ठ १९ गते नै समाप्त भैसकेको वर्तमान अवस्थामा निर्वाचनको विकल्प हुन सक्दैन ।’ डा। कोइरालाले भनेका छन् ।

२०७७ साल असोज २४ मै निर्वाचन गर्न गराउन सरकार क्रियाशील हुनुपर्नेमा सो नगरी विभिन्न बाहाना देखाएर निर्वाचन टार्ने सरकारको रबैयाले लोकतन्त्रलाई नै असर गर्ने डा। कोइरालाको भनाई छ ।

उनले राजनीतिक दल, तिनका भातृ संगठन र यस्ता आधिकारिक ट्रेड युनियनका नियमित अधिवेशन र निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै निर्वाचनले नै लोकतन्त्र बचाइराख्ने समेत जिकिर गरेका छन् ।

‘तसर्थ, सरोकारवालाहरुको संवाद, समन्वय र सहकार्यमा तोकिएको मितिमा आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न गराउन सरकारसँग जोडदार माग गर्दछु ।’ डा। कोइरालाले भनेका छन् ।

आउँदो असोज २४ गते निर्वाचन गर्ने तय भएकोमा कोरोना संक्रमणका कारण मंगलबारको मन्त्रिपरिषद्को बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्