पोखरा रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सकियो

काठमाडौं, असोज १३ । पोखरा रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सकिएको छ ।निर्माणाधीन रङ्गशालाको भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको हो ।

एक अर्ब २८ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले बताए ।

ताम्राकारले पछिल्लो समय निर्माण सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउदै भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको बताए ।

स्टेडियमको पश्चिमतर्फ भीआईपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले पोखरा रङ्गशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उनले बताए ।

चेन्जिङ्ग रुम, मिडिया सेन्टरलगायतको काम सकिएको र अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । स्टेडियमको चारैतिरको पिच निर्माणाधीन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् ।

ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम चलिरहेको छ । गएको मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल यही पोखरा रङ्गशालामा भएका थिए । माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधीन यो रङ्गशाला तयार भएपछि नेपालकै ठूलो रङ्गशाला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्