आइपीएलः दिल्ली क्यापिटल्सको पहिलो हार, हैदराबाद १५ रनले विजयी

काठमाडौं , असोज १४ । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ ।

छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो ।

तर, तीन खेलमा सन्दीपले मौका पाएका छैनन् । दोस्रो स्थानमा रहेको दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्