संसदको विशेष अधिवेशनको मागसहित सरकार विरुद्ध का‌ंग्रेस सडकमा जाने

काठमाडौं, असोज १४ ।सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध छलफल गर्नका लागि कांग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को बिशेष अधिवेशनको आवश्यकता रहेको निष्कर्ष निकालेको हो ।

पार्टी केन्द्रीय कार्यसमिमितिको १९ गते बस्ने बैठकले संस्थागत निर्णय गरेपछि विशेष अधिवेशनका लागि संसदीय दलले आवश्यक प्रक्रिया अघि बढाउने कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले बताए ।

संसद्मा रहेका अन्य विपक्षी दलसमेतको सहकार्यमा विशेष अधिवेशन बेलाउने पहल गर्ने महतको भनाई छ । ‘कोभिड–१९ संक्रमण नियन्त्रणका दिशामा सरकार अनुत्तरदायी भयो । यस्तो संकटको बेलामा समेत एकपछि अर्को भ्रष्ट्राचार र अनियमिताका काण्डमा संलग्न हुँदै जान थाल्यो,’ महतले भने,‘मुख्य रुपमा यी दुई विषयमा छलफलका लागि विशेष संसद् अधिवेशन बोलाउनु पर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।’

पार्टीको संस्थापन इतरपक्षीय नेताले समेत यसअघि विशेष अधिवेशनका लागि पहल गर्नुपर्ने माग गर्दै आएको थियो । कांग्रेसले संसद् अधिवेशनको मागसँगै सडकमा विरोधका कार्यक्रम समेत गर्ने भएको छ । सामजिक दूरी पालना गरेर सरकारका अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध सडकबाट समेत आवाज उठाउने कांग्रेसको तयारी रहेको महतले बताए ।

कहिलेदेखि कार्यक्रम गर्ने भन्नेबारेमा केन्द्रीय कार्यसमितिको बैठकले निर्णय लिने भएको छ ।आजको बैठकले पार्टीको महाधिवेशनको कार्यतालिका , भ्रातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहित काँग्रेस प्रवेश गर्ने नेताहरूको व्यवस्थापन लगायतका विषयमा पनि छलफल गरेको छ ।

महतकाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी कार्यालयमा दर्ता गरिएको विरोधपत्रको केन्द्रीय समितिमा स्पष्टीकरण दिने जनाइएको छ ।देउवा निवासमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खण्ड्का, सहमहामन्त्री महत, नेता गोपालनमान श्रेष्ठ र एनपी साउनबीच भएको छलफलले सदन र सडकबाट सरकारका गलत कदमको प्रतिवाद गर्ने गरी केन्द्रीय समितिबाट निर्णय गराउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्