पञ्जाबलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा

काठमाडौं, असोज १६ । साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

बिहीबार राति अबुधाबीस्थित शेख जायद स्टेडियममा भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए ।

क्रिश्नापा गोथामले अविजित २२ रन जोड्दा कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे । मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २र२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ७० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै केइरन पोलार्डले अविजित ४७ रन जोड्दा हार्दिक पाण्डयले अविजित ३० रन बनाए । इशान किशन २८ रन जोडे । सूर्यकुमार यादवले १० रन बनाए । पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक/एक विकेट लिए ।आईपिएल क्रिकेटमा आज चेन्नाई सुपर किङ्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्