आईपीएलः बैंग्लोरलाई हराउँदै दिल्ली उक्लियो शिर्ष स्थानमा

काठमाडौं , असोज २० । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ५९ रनले पराजित गरेको छ ।

जीतसँगै दिल्ली आईपीएलको तालिकामा शीर्ष स्थानमा पुगेको छ । दिल्लीको जीतमा मार्कस स्टोइनिस र कागिसो रबाडा नयाक रहे ।टस हारेर ब्याटिङ गर्न उत्रेको दिल्लीले बैंग्लुरुलाई १ सय ९७ रनको लक्ष्य दिएको थियो । जवाफमा बैंग्लुरुले ९ विकेटको क्षतिमा १ स्य ३७ रन मात्र बनाउन सक्यो ।

बैंग्लुरुका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । उनी सबै टी–२० खेलहरुमा ९ हजार रन पुरा गर्ने पहिलो भारतीय बने । बैंग्लुरुलाई रोक्न कागिसो रबाडाले ४ विकेट लिए भने एनरिच नोर्तजेले २ विकेट लिए ।

यसअघि, मार्कस स्टोइनिसको अर्धशतकीय पारीको मद्दतले दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो । स्टोइनिसले २६ बलमा २ छक्का र ६ चौकाको मद्दतले नटआउट रहँदै ५३ रन बनाए ।

पृथ्वी शले ४२ तथा ऋषभ पन्तले ३७ रनको योगदान दिए । बैग्लुरुका लागि मोहम्मद सिराजले २ विकेट लिए ।जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट ६–६ अंक जोडेका मुम्बई र बैंगलोर क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

आईपिएल क्रिकेटमा आज मुम्बई इण्डीयन्सले राजस्थान रोयल्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्