आईपीएलः चेन्नईविरूद्ध बैंगलोरको शानदार जित

काठमाडौं, असोज २५ । आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईमाथि शानदार जित निकालेको छ।चौथो जित हात पार्ने क्रममा बैंगलोरले दुबईमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराएको हो ।

जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठौँ स्थानमा रहेको चेन्नईको ४ अंक छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्य पच्छ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमा समेटियो ।

चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट तथा वासिङ्गटन सुन्दरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित रहदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजित २२ रन जोडे ।

यस्तै देवदुत पडीक्कलले ३३ रन जोड्दा वासिङ्गटन सुन्दरले १० रन बनाए । आरोन फिन्च २ रनमा आउट हुँदा एबी डी भिलियर्स शुन्य रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्