के फेरि दशैंको मुखमा साँच्चै होला त लकडाउन ?

काठमाडौं सोज २७ । दशैं नजिकिँदै जाँदा अहिले शहरबजारमा भीडभाड अत्यधिक बढेको छ । भीड बढेसँगै कोरोना संक्रमित पनि बढेका छन् । मृतकहरु दिनहुँ थपिइरहेका छन् । यो बेला के दशैंमा साँच्चै लकडाउन हुन्छ त ?  सम्भवतः यसको जवाफ सरकारसँगै छैन । केही दिन यता नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्या निकै बढिरहेको छ ।पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमणको अवस्था थप भयावह बन्दै गएको छ ।अरु ठाउँ भन्दा पछिल्लो समय काठमाडौं उपत्यकामा नै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् ।नजिकिँदो चाडसँगै सार्वजनिक स्थानमा बढेको भीडभाड, नाकमुख छोपिने गरी मास्क नलगाउने प्रवृत्ति र भौतिक दूरी कायम नराखी हिँडडुल गर्ने बानीका कारण संक्रमण दर बढेको छ। त्यस्तै साबुनपानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने प्रवृत्ति पनि न्यून छ।

फेरि लकडाउन होला त ?

नेपालीको प्रमुख चाड दशैँ मुखैमा रहेको र सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको अवस्थामा धेरैमा अबको सरकारी कदम के हुन्छ भन्ने विषयमा व्यापक कौतुहलता रहेको पाइन्छ ।विशेषतः चाडबाडका बेला एक ठाउँबाट अर्को ठाउँ जाने र आफन्तहरूसँग भेटघाट अन्य समयमा भन्दा बढी गरिने हुँदा अबको एक हप्तामा सुरु हुने पर्वअघि के हुन्छ भन्ने विषयमा चासो बढेको हो । तर बढ्दो सङ्क्रमण दर अनि दशैँको आगमन नजिकिएको अवस्थामा के हुन्छ त ? यसको स्पष्ट जवाफ सरकार जिम्मेवार निकायहरूसँग छैन ।

उपत्यकाका तीन जिल्लाका अधिकारीहरू हाल पर्ख र हेरको अवस्थामा देखिन्छन् । साप्ताहिक रूपमा दुई देखि तीन दिनसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक भइरहेको भए पनि निषेधाज्ञाका विषयमा भने छलफल केन्द्रित नभएको उनीहरू बताउँछन् ।‘हामीले पछिल्लो अवस्थाको समीक्षा गरिरहेका छौँ । विज्ञहरूसँग पनि परामर्श गरिरहेका छौँ,’ जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने । अत्यावश्यक सेवा मात्रै सञ्चालनमा राखेर अरू सेवा स्थगन गर्ने हो कि भन्ने सोचमा पाि आफूहरु रहेको उनको भनाई छ ।‘लकडाउन नै गर्ने नगर्ने चाहिँ कुरा भएको छैन । क्षेत्रगत रूपमा लकडाउन पनि गर्न सकिन्छ । त्यो भनेको कुनै वडा वा टोलको अवस्था हेरेर प्रतिबन्धात्मक व्यवस्था कायम गर्ने हो’ प्रजिअ दाहालले भने ।

धेरै संक्रमित सूचीको ३९ औं स्थानमा नेपाल
अहिलेसम्म विश्वमा संक्रमित धेरै हुने देशको सूचीमा नेपाल ३९ औं स्थानमा पुगेको छ । विश्वभरको कोरोना सम्बन्धी अपडेट गर्दै आएको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म २ सय १४ देश कोरोना फैलिएको छ ।नेपाल भन्दाअघि ३८ औं स्थानमा कुवेत छ । कुवेतमा संक्रमितको संख्या एक लाख ११ हजार रहेको छ । अहिलेसम्म विश्वभर ३ करोड ८० लाख ३५ हजारमा कोरोना पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै संक्रमित अमेरिका, भारत र ब्राजिलमा छन् ।नेपालका कुल संक्रिय संक्रमितमध्ये वाग्मती प्रदेशमा सबैभन्दा बढी छन् । तीमध्ये पनि अधिकांश काठमाडौं उपत्यकाका हुन् । अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा २१,७३९ जनामा सक्रिय सङ्क्रमण छ । यो देशभरि भएका सक्रिय सङ्क्रमितको ६४ प्रतिशत हो ।

के छ सरकारी तयारी ?

नेपालमा पछिल्लो समय कोरोना संक्रमित सङ्ख्या ह्वात्तै बढेपछि सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने तर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो ।नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन ।

अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उहाँले नागरिक संवेदनशिल नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो । चाडबाडको समयमा नागरिक सचेत भए लक डाउन गर्ने अवस्था नआउने उनको भनाइ छ ।लक डाउन गर्ने÷नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागकिले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने मन्त्री ज्ञवालीको भनाइ छ ।

त्यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारसम्मको विवरण अनुसार नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ११ हजार नाघेको छ । देशभरि ३३,८८० जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये १९,९५७ जना घरमा र बाँकी अरू संस्थागत आइसोलेशनमा बसिरहेका छन् ।

अहिलेसम्म ६४५ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्यांक छ । अहिलेसम्म नेपालमा ७७,२७७ जना सङ्क्रमित निको भइसकेका छन् । यो सङ्क्रमितको कुल सङ्ख्याको ६९ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्