बाहिरिँदै लगानीकर्ता, नेप्से ७.४२ अंकले घट्दा करिब डेढ अर्बको कारोबार

काठमाडौं, असोज २८ । साताको चौथों दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । बुधबार नेप्से सूचक ७।४२ अंकले ओरालो झर्ने क्रममा १५६१.१७ अंकमा पुगेको छ।सूचकमा गिरावट आउने क्रममा कारोबार रकम पनि घटिरहेको छ।

बुधबार १९५ वटा कम्पनीको कारोबार हुँदा एक अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ।होटल बाहेक सम्पूर्ण सूचकमा गिरावट आएको छ। आजदेखि कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनीको सेयर अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।

चाडपर्व नजिकिएसँगै लगानीकर्ता सेयर बजारबाट क्रमिक रुपमा बाहिरिँदा बजार परिसूचकसँगै कारोबार रकम पनि क्रमिक रुपमा घट्दै गएको छ । अर्को साताबाट दसैं सुरु हुन लागेकाले लगानीकर्ता चाडपर्व लक्षित गर्दै सेयर बजारबाट बाहिरिन लागेका हुन् । जसले गर्दा यो साता लगातार कारोबार रकम र नेप्से ओरालो लागेको छ ।

आज नेप्सेमा होटेलबाहेक सबै समूहको सूचक ओरालो लाग्दा नेप्से पनि घटेको हो । विकास बैंक समूहको सूचक सर्वाधिक १.९९ प्रतिशत, वित्त कम्पनी समूहको सूचक १.३१ प्रतिशत र हाइड्रोपावर समूहको सूचक १.१९ प्रतिशतले घटेको छ । त्यस्तै  बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक पनि ०.२९ प्रतिशतले घटेको छ । होटेल समूहको सूचकबाहेक सबै समूहको सूचक रातो हुँदा नेप्से पनि घटेको हो । होटेल समूहको सूचक भने ०.१४ प्रतिशतले बढेको छ ।

नेप्से ओरालो लाग्दा कारोबार रकम पनि घटेको छ । कारोबार संख्यासँगै कारोबार रकम पनि घटेको देखिन्छ । आज नेप्सेमा २४ हजार ८९९ वटा कारोबार भएको छ । १९५ कम्पनीको उक्त कारोबार संख्याबाट ५२ लाख ९१ हजार ३४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ६३ लाख ८८ हजारको कारोबार भएको छ ।

आज बजारमा कारोबार रकमको नेतृत्व भने सानिमा बैंकले गरेको छ । आज मात्रै लगानीकर्तालाई लाभांश घोषणा गरेको बैंकको ७ करोड २५ लाख ४४ हजारको सेयर कारोबार भएको छ । कारोबार रकममा सानिमा बैंकलाई साथ दिँदै नेपाल बैंक, नेपाल पुनर्बिमाा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र अरुण काबेली पावर अगाडि देखिएका छन् ।

यता सोमबार नेप्सेमा सूचीकृत भएर आजबाट कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ३०५ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य ३० रुपैयाँले बढेर ३३५ रुपैयाँ पुगेको छ ।

नेपाल फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दा नेसनल हाइड्रोपावर र गणपति माइक्रोफाइनान्सका लगानीकर्ता सर्वाधिक कमाउनेमा अगाडि रहे । यता गुमाउनेमा भने शीर्ष ५ कम्पनीमा हाइड्रोपाव मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्