सर्लाहीमा प्रहरीचौकी घेर्न पुगेका सांसदहरूमाथि अश्रुग्यास, डीएसपीसहित कयौं घाइते

काठमाडौं, असोज २८ । सर्लाहीमा प्रहरीचौकी घेर्न पुगेका सांसदहरूमाथि अश्रुग्यास प्रहार गरिएको छ । सर्लाहीको रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले सर्लाहीको मलंगवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।कांग्रेसले मलंगवाको मलंगवा पब्लिक मावि अगाडीबाट विरोध प्रदर्शन सुरु गरेको थियो।

प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश २ का प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायतका नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

हत्याको छानबिन र उजुरी लिन माग गर्दै शान्तिपूर्ण प्रदर्शन जिल्ला प्रहरी कार्यालयअघि पुगेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको प्रदेशसभा सदस्य सिंहले बताएका छन्।

प्रदेश सांसद सिंहले प्रहरीले सयौं राउण्ड हवाइ फायरसमेत गरेका दाबी गरेका छन्। प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिएका छन्।

यस्तै मृतकलाई शहिद घोषणा र १० लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी मदन कुँवरले बताए।बुधबार प्रदर्शनकारीको ढुंगा लागेर दुई जना डीएसपीसहित २२ जना प्रहरी घाइते भएका छन्। उनीहरुको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको डीएसपी कुँवरले बताए।

कांग्रेसले घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई सहिद घोषणा गर्न माग गरेको छ।प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ४ जना घाइते भएको बताएका छन्।

रामनगर–७ सिसौट बस्ने राममाथि गत २१ गते बेलुका आफ्नो घरअघि बसिरहेको बेला १२(१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले धारिलो हतियारले आक्रमण गरेका थिए।

आक्रमणमा परी गम्भीर घाइते भएका रामको २२ गते उपचारको क्रममा इन्डो अस्पताल वीरगंजमा मृत्यु भएको थियो।यस्तै प्रहरीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। अहिले प्रदर्शनकारी र प्रशासनबीच छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्