कांग्रेसले भन्यो- हुम्लामा चीनले सीमा मिचेकै हो, प्रमाण देखाउँदा पनि सरकार किन मौन?

काठमाडौं , असोज २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ ।कांग्रेसले हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको भन्दै आपत्ति जनाएको छ।

कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा २ किलोमिटरसम्म सीमा अतिक्रमण भएको फेला पारेको भन्दै कांग्रेसले सरकारको मौनता दुखद, लज्जास्पद र आपत्तिजनक भएको बताएको छ ।

कांग्रेसले उत्तरी वा दक्षिणी जुनसुकै छिमेकीले गरेपनि सीमा अतिक्रमण अस्वीकार्य रहेको भन्दै सरकार मौन बस्नु वा सीमा मिचिएको छैन भनेर ढाकछोप गर्नु आपत्तिजनक रहेको जनाएको छ।‘सदरमुकाम सिमिकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चीनले नेपालको सिमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सिमा मिचिएको छैन’ भनेर परराष्ट्र मार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो’ बुधबार प्रवक्ता विश्वप्रकाश शर्माले वक्तव्य प्रकाशित गरी भनेका छन्, ‘सरकारको धारणालाई हामीले तत्कालै ‘हतारोको टिप्पणी’ संज्ञा दिएका थियौं।’

प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय भएको बताएका छन् । ‘झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ’ शर्माले भनेका छन् ।कांग्रेसले सीमा अतिक्रमणको विषयमा तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गरेको छ ।

दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सिमा मिचिएको छैन’ भनी परराष्ट्र मन्त्रालय बोल्नु र सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु लज्जास्पद र आपत्तिजनक विषय भएको कांग्रेसले बताएको छ ।

कांग्रेसले हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि असोज १४ गते कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुगेको जानकारी दिँदै चीनसँगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सिमाक्षेत्रमा सो टोलीले ११ दिन लगाएर गरेको अध्ययन को निष्कर्षअनुसार नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्