मन्त्रीमण्डल हेरफेर, ईश्वर पोखरेलको जिम्मेवारी खोसियो, अर्थमा विष्णु पौडेल (सूचीसहित)

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षामन्त्री पद खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिमण्डल पुनर्गठनमा उनको नाम रक्षामन्त्रीको रुपमा समावेश छैन । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।

सत्तारुढ नेकपाका सचिवालय सदस्य पोखरेलले मन्त्रीका रुपमा गरेको कामकारबाहीको विषय पटक पटक विवाद तानिएको थियो भने उनको कार्यशैलीका कारण सेनासँग समेत सम्बन्ध बिग्रिएको टिप्पणी हुने गरेको थियो ।

उनको पद खोसिएसँगै रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन् । यस्तै ओली सरकारमा ३ नयाँ अनुहारले प्रवेश पाएको छ । जसमा महासचिव विष्णु पौडेलले अर्थ, नेता कृष्णगोपाल श्रेष्ठले सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिकको मन्त्री बनेका छन् ।

महिलामन्त्रीको भूमिकामा रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको सपथ बिहीबार साढे ११ बजे लिने भएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सपथ समारोह राष्ट्रपति कार्यालयमा बिहीबार साढे ११ बजेका लागि तोकिएको छ ।

यता बुधवार पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओली निकटले मात्रै स्थान पाएका छन्। जसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले स्थान पाएका छैनन्।

ओलीले सहमति विपरित गएर मन्त्रिपरिषद् विस्तार गरेपछि प्रचण्ड असन्तुष्ट बनेका छन्। स्थायी कमिटी बैठक र सचिवालय बैठकको भावना बमोजिम मन्त्रिपरिषद् पुनर्गठन नभएको भन्दै प्रचण्ड असन्तुष्ट बनेका हुन्।

दुई अध्यक्षबीच बुधवार पनि बालुवाटारमा भेट भएको थियो। तर उक्त भेटमा मन्त्रिपरिषद्का विषयमा कुराकानी नै नभएको खुमलटार स्रोतको दाबी छ।

 

प्रतिक्रिया दिनुहोस्