सेयर बजारमा नयाँ अर्थमन्त्री आउँदा पनि देखिएन उत्साह, खुम्चियो कारोबार रकम

काठमाडौं, असोज २९ । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य सुधार भएको छ । शक्तिशाली वामपन्थी सरकारले नयाँ अर्थमन्त्री पाउँदासमेत सेयर बजारमा उत्साह देखिन नसक्दा सामान्य मात्रै वृद्धि भएको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दिन सेयर बजारमा खासै चमक देखिएन ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.२९ अंकले बढेर १५६२.४६ अंकमा बन्द भएको छ । बुधबार १५६१.१७ अंकमा बन्द भएको नेप्से आज बिहान प्रि-ओपनीङ सेसनमा बढेर १५६४.६९ अंकमा खुलेको थियो ।

११ बजे नेप्से खुलेसँगै सुरुवाती समयमा नेप्सेमा उछाल देखिँदा ११ बजेर २१ मिनेमै बढेर १८८९.८५ अंकसम्म पुगेको नेप्से कारोबार बन्द हुनुभन्दा केही मिनेटअगाडि १५६०.१५ अंकमा झरेको थियो । तर अन्तिममा सामान्य सुधार भएर नेप्से बन्द भएको छ ।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका नेकपाका महासचिव विष्णु पौडेल इतिहासकै बलियो वामपन्थी सरकारको नेतृत्व गर्न पुगेको छन् । तर उनलाई अर्थतन्त्रको ऐनका रुपमा रहेको सेयर बजारले भने स्वागत गर्न सकेन ।

बजार परिसूचकमा उत्साह नदेखिँदा कारोबार रकम पनि घटेको छ । बुधबार करिब डेढ अर्बको कारोबार भएको बजारमा आज एक अर्ब ४२ करोडको मात्रै कारोबार भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणले निम्त्याएको अनिश्चितता तथा दसैं नजिकिँदै गर्दा सेयर बजारबाट लगानीकर्ता बाहिरिन लाग्दा पनि बजारको उत्साह सेलाउँदै गएको छ । नयाँ अर्थमन्त्री आएसँगै बजारमा उत्साह आउने अपेक्षा गरिए पनि त्यसो हुन सकेन ।

आज नेप्सेमा १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ५८ लाख ९१ हजारको कारोबार भएको छ। आज नेप्सेमा कारोबार रकमको नेतृत्व नेपाल पुनर्बिमा कम्पनीले गरेको छ । कम्पनीको ७ करोड ४० लाख ८४ हजारको सेयर कारोबार भएको छ । कारोबार रकममा नेपाल पुनर्बिमालाई साथ दिँदै शिवम् सिमेन्ट, अरुण भ्यली हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बिमा कम्पनी अगाडि देखिएका छन् ।

यता आज नेप्सेमा कारोबारमा आएको नेपाल फाइनान्स र जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा आज कमाउनेमा हाइड्रोपावरका लगानीकर्ता अगाडि देखिएका छन् । आँखु खोला जलविद्युत् कम्पनी र गुराँस लघुवित्तका लगानीकर्ताले भने ५ प्रतिशत माथिले गुमाएका छन् ।

नेप्सेमा बैंकिङ, व्यापार हाइड्रोपावर अन्य र म्युचुअल फन्ड समूहको सूचकबाहेक सबै रातो देखिए पनि बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक सामान्य वृद्धि हुँदा नेप्से पनि नकारात्मक हुनबाट रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्