खसी-बोकाको बिक्री कात्तिक ३ गतेदेखि सुरु गरिने

काठमाडौं , असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसी(बोकाको बिक्री सुरु गर्ने भएको छ ।

कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दसैंका लागि खसी(बोका बिक्रीको काम सुरु हुने भएको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ ।

यस्तै दुई हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाइ हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका वाग्मती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए । यस वर्ष दाङ र हेटौंडाबाट हजारवटा खसी(बोका ल्याइएको उनले बताए ।

कम्पनीले यसअघि दसैंका लागि एक हजारवटा खसी बोका र एक हजारवटा च्याङग्रा बिक्री गर्ने बताएको थियो । तर कोराना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले कम आपूर्ति गर्न लागिएको उनको भनाइ छ । पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याई बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्‍न थप आयात गर्न सकिने गौतमले बताए ।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी(बोकाको मूल्य गत वर्ष भन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए । मूल्य निर्धारण भने आइतबार साँझ मात्रै तय हुने पनि उनले बताए । कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण सुरु गरेको थियो ।

उक्त मूल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरिएको थियो । कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने बताएको छ । दसैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ ।

दसैंलक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँ(गाउँमा गएर खसीबोका खरिद गरेर बजारमा ल्याउन सुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्‍न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्