कोरोना नियत्रणमा सरकार गम्भीर भएन, दसैंलगत्तै आन्दोलन गर्छौँ: सभापति देउवा

काठमाडौं , असोज ३० । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैं लगत्तै विरोधका औपचारीक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् ।

काँग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैं लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताए ।

कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको पनि सभापति देउवाको आरोप छ ।

औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको बताए ।

नेपाली काँग्रेसका सहमहामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक प्रकाशसरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जिवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशिल नभएको बताए ।

उनले सरकारलाई जिम्मेवार बनेर काम गर्न समेत माग गरे । कोभिड १९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्दार र राहतको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन समेत माग गरे ।

कांग्रेसद्धारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड १९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिदा समेत सरकार गम्भिर नबनेको निष्कर्ष निकालेको छ ।

यता नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना महामारीका कारण परेको प्रभाव न्यून गर्नका लागि सरकारलाई आठ बुँदे सुझाव दिएको छ । अनुगमन समितिले शुक्रबार प्रेस नोट जारी गरेर सरकारलाई महामारीका कारण परेका प्रभाव न्यूनिकरणका लागि तत्काल गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस्