सरकार भ्रष्टाचारमा लिप्त भयो, उन्मुक्ति दिन हुन्न : नेता सिंह

काठमाडौं,कात्तिक १। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले ठूला ठूला भ्रष्टाचार काण्ड भएको भन्दै त्यसको निष्पक्ष छानविनको माग गरेका छन् । काठमाडौँको नागार्जुन नगरपालिकाले सिउजाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको उद्घाटन गर्दै शनिबार उनले यस्तो बताएका हुन् । जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले जोड दिए ।

सरकार कोरोना महामारीको बेलामा पनि मेडिकल सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेको सिंहको भनाइ थियो । करिब दुई तिहाई बहुमत नजिकको वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन असफल भएको नेता सिंहले दाबी गरे ।

दिनानुदिन बलात्कार, महिला हिंसाका घटना बढेको भन्दै उनले सरकारले शान्ति सुरक्षा दिन पनि नसकेको बताए । यस्तै उनले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताए ।वर्तमान सरकारको परराष्ट्रनीति असन्तुलित देखिएको उनको भनाइ थियो ।

हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्