पर्सामा सुन भण्डार गरिएको ठाउँमा प्रहरीको छापा, साढे २२ किलो सुन बरामद

काठमाडौं कार्तिक १ । सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ । अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको हो ।शनिबार मध्यान्ह छापामारी गर्दा प्रहरीले साढे २२ किलो सुन बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेर साढे २२ किलो सुन बरामद गरेको हो । प्रहरीका अनुसार निलो प्लास्टिकमा पोको पारिएको अवस्थामा २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको हो ।

सून तथा चाँदी लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्त नेतृत्वको टोलीले उक्त सुन बरादम गरेको हो।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको बताए ।सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।

प्रहरीका अनुसार सुनको एक किलोको बिस्कुट १३ वटा, मझौला बिस्कुट ४६ वटा ९८.५७६ किलो) र सुनको बिस्कुट सानो १०० ग्रामको दरले १० वटा ९१ किलो) बरामद भएको छ।यसैगरी, सुनका विभिन्न गरगहानाहरू जम्मा ६८१ ग्राम र चाँदीका गरगहाना तथा थाल लगायत भाडाकुँडा २।२६२ किलो बरामद भएको एसपी पन्तले बताइन्।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यति धेरै परिमाणमा सुन किन राखिएको हो र यसमा को को संलग्न छन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।विस्तृत विवरण सार्वजनिक गर्न भने पत्रकार सम्मेलन गर्ने पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्