चीनले फेरि पनि भन्यो -नेपाली भूमि मिचेका छैनौँ, भवन बनाएको आफ्नै जमिनमा हो

काठमाडौं, कार्तिक १ । चीनले हुम्लामा नेपाली सीमा नमिचेको दावि गरेको छ। सीमाक्षेत्रमा पर्ने नेपाली जिल्ला हुम्लास्थित नेपालको भूमि मिचेर भवन निर्माण नगरेको चीनले दावी गरेको हो । चिनियाँ सरकारी अधिकारीहरुले हुम्लामा नेपाली भूमि नमिचिएको दाबी गर्दै हालै निर्माण गरिएका भवन चिनियाँ भूमिभित्रै रहेको दाबी गरेका छन्।

हालै चिनियाँ पक्षबाट निर्माण भएका भवन रहेको स्थान चीनकै बुराङ्ग काउन्टीको अलिमा रहेको उनीहरुको दावी छ । तिब्बतस्थित बुराङ काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग हालै दिएको अन्तर्वार्तामा यस्तो दावी गरिएको हो ।

गत मे महिनामा हुम्लाका जनप्रतिनिधिले नेपाली भूमिमा चीनले भवन निर्माण बनाएको साथै सीमास्तम्भ समेत गायब भएको बताएका थिए । नेपाल सरकारले भने चिनियाँ पक्षबाट सीमा नमिचिएको भन्दै विज्ञप्ति नै निकाल्यो ।

सोही घटनाक्रममा चिनियाँ अधिकारीले मिडियामार्फत नेपालको भूमि नमिचेको सपष्टिकरण दिएका हुन् । तिब्बतस्थित बुराङका परराष्ट्र सम्बन्ध निर्देशक बाकीले गत मे महिनामा भवन निर्माण गर्नुअघि नै सेना, स्थानीय नापी अधिकारी र सर्वेक्षण अधिकारीको सर्वेक्षणपछि चिनियाँ भूमि यकिन गरिएको बताए ।

उनले भवन निर्माण गरिएको स्थान पूर्ण रुपमा चीनकै भूभाग रहेको दावी गरे । साथै सबैभन्दा नजिकको भवन दुई देशको सीमाभन्दा एक किलोमिटर टाढा रहेको पनि उनले बताए । बरु नेपाली पक्षबाटै सीमा यकिन हुन नसकेको चिनियाँ पक्षको आशंका छ ।यता नेपाल र चीनबीच सीमा विवाद समाधान भए पनि नेपाल र चीनले तीनवटा सीमाको संयुक्त अवलोकन गरेका र कुनै समस्या नपाइएको समेत चिनियाँ सरकारी अधिकारीको दावी छ।

यसैबीच नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत डा। महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भूभाग नमिचेको स्पष्ट पारिसकेका छन् । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने चीनले नेपाली भूभाग मिचेको दाबी गर्दै सरकारले झूट बोलेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्