१२ हजार घुस लिएको अभियोगमा वन रक्षक पक्राउ

काठमाडौं, कात्तिक १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई रु १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले आज पक्राउ गरेको हो ।आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनलाई रुपन्देही सैनामैना नगरपालिका–६ स्थित कलौनी चोकबाट पक्राउ गरिएको हो ।

यस्तै आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी र निजकी श्रीमती निर्मला केवटलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

थुनामा रहेका आरोपीलाई छुटाइदिन सहयोग गरेवापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा शुक्रबार सियारी गाउँपालिका –७ स्थित खनाल मिठाइ पसल नजीकैबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई शुक्रबार पक्राउ गरिए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्