४० मेगावाटको अपर चमेलियाको शिलान्यास

काठमाडौं, कार्तिक १ । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले आज संयुक्तरुपमा शिलान्यास गरे ।

उक्त आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो । २० महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाको शिलान्यास गरिएको कम्पनीका सञ्चालक त्रितालले बताए । आयोजनाको कूल लागत रु सात अर्ब ४० करोड छ ।

सो आयोजनामा छ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले रु पाँच अर्ब १८ करोड लगानी गरेका छन् । सञ्चालक त्रितालका अनुसार बैंक तथा वित्तीय संस्थाले गर्ने ऋण लगानी कूल लागतको ७० प्रतिशत हो । ३० प्रतिशत ९रु दुई अर्ब २२ करोड० स्वपूँजी लगानी हुने जनाइएको छ ।

शिलान्याससँगै आयोजनाको संरचना निर्माणको काम शुरु गरिएको छ । २०५ मिटर हेड ९उचाइ० रहेको सो आयोजनाका लागि ३।२ मिटर व्यास ९डायमिटर० को करिब छ किलोमिटर पाइपलाइन निर्माण हुनेछ । अपी हिमाल गाउँपालिका–५ ओखलमा बाँध बाँधेर पाइपलाइनमार्फत ल्याइएको पानी मार्मा गाउँपालिका–२ घट्टेगाडमा निर्माण हुने विद्युत् गृहमा खसालिनेछ ।

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सबस्टेसनमा जोडिनेछ । सो आयोजना प्राधिकरणले निर्माण गरेको ३० मेगावाट क्षमताको चमेलियाभन्दा करीब १३ किलोमिटर माथि पर्छ । बलाँच सबस्टेसन चालू अवस्थामा रहेकाले विद्युत् जोड्न कुनै समस्या नहुने त्रितालले बताए । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

कम्पनीले यसअघि ८।५ मेगावाट क्षमताको नौगाड र आठ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अपर चमेलियाको निर्माणपछि कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ५६।५ मेगावाट पुग्नेछ ।

सो अवसरमा गाउँपालिका अध्यक्ष धामीले आयोजना निर्माणमा कुनै व्यवधान आउन नदिइने प्रतिबद्धता व्यक्त गरे । “आयोजना निर्माणमा कुनै समस्या हुन दिइने छैन”, उनले भने, “आयोजना सञ्चालन भएपछि यहाँका नागरिकले प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी पाउँछन् । आयोजना निर्माणमा पूर्ण सहयोग पुर्याउँछौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्