अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा, गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौं , कार्तिक ३ । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिनेछन् । हिजो आइतबारदेखि लागु हुने गरी यो व्यवस्था गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असशक्त, अति अपांगता भएका नागरिक, असहाय एकल महिला, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत बाहेक अरूले आफ्नै खर्चमा कोराना परीक्षण गर्नुपर्ने निर्णय गरेको हो । उनीहरूको कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमाबाट बेहोर्ने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोरोनाको परीक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथा गैरसरकारी अस्पतालमा हिजो आइतबारबाट नै लागु भइसकेको बताए । उनले भने, ‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार स्वयं व्यक्तिले आफैले खर्च गर्नुपर्नेछ । अब सबै सरकारी तथा निजी अस्पतालले भर्ना र उपचार शुल्क लिनेछन् ।

यस्तै, सबै प्रयोगशालाले परीक्षण शुल्क लिनेछन् । यसैबीच दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो ।

प्रतिक्रिया दिनुहोस्