दशैँ भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाले दिए निर्देशन

काठमाडौँ, कार्तिक ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सबै सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको छ।

सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्।पार्टी सभापतिले संसदीय दललाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

सांसदहरु सबै काठमाडौंमा उपलब्ध नभएका कारण बैठक राख्न सम्भव नसकिएकाले दलको नेताका हैसियतले देउवाले दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको खाँणले जानकारी दिए ।जनता भोकभोकै भएको अवस्थामा सांसदहरुले भत्ता लिनु उपयुक्त नहुने भएर यस्तो निर्देशन दिएको उनले बताए।यसअघि सांसद खाँण, प्रकाशमान सिंह लगायतका नेताहरूले दशैँ भत्ता फिर्ताको निर्णय गरिसकेका छन् ।

जनता कोरोना भाइरसको महामारीबाट पीडित भइरहँदा पनि जनताकै प्रतिनिधि भनिएका सांसद्हरूले भने दशैँ भत्ता बापत ६४ हजार ७० रूपैयाँ भत्ता लिएको बाहिरिएपछि चौतर्फि आलोचना भएको छ ।प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्।

यता हिजो मात्रै नेकपा नेता भीम रावलले आफ्नो खातामा जम्मा गरिएको दसैं भत्ता नलिने घोषणा गरेका छन्।साथै उनले यस्तो विषम परिस्थितिमा कुनै जनप्रतिनिधिले पनि उक्त भत्ता लिन नहुने सुझाव दिएका छन्।आइतबार सामाजिक सञ्जालमार्फत नेता रावलले सांसदले दसैं भत्ता नलिने व्यवस्था गर्न माग पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्