यो वर्ष दसैं बिदामा बैंकहरुले शाखा नखोल्ने, गर्यो यस्तो आग्रह

काठमाडौं , कार्तिक ३। यो वर्ष दसैंको सार्वजनिक बिदामा बैंक नखुल्ने भएका छन् । विगतमा दसैंको सार्वजनिक बिदामा केही सीमित शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएका बैंकहरुले यो वर्ष भने बिदामा बैंकिङ सेवा प्रदान नगर्ने भएका हुन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल यो वर्ष दसैं बिदामा बैंकिङ सेवा प्रदान नहुने सम्भावना रहेको बताए । बैंकर्स संघले औपचारिक रुपमा निर्णय नगरे पनि बैंकहरुले यो वर्ष दसैं बिदामा बैंकिङ काउन्टर नखोल्ने तयारी गरेका छन् ।

बैंकहरुमा कोभिडको संक्रमण बढेको अवस्थामा यो बिदाले पनि नियन्त्रणमा केही सहज पनि हुने र डिजिटल बैंकिङलाई प्रोत्साहन गरेको अवस्थामा सार्वजनिक बिदामा ठूलो कारोबार नहुने बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । उनले सानो कारोबार डिजिटल च्यानलबाटै गर्न सकिने अवस्थामा दसैं बिदामा बैंकहरुले काउन्टर नखोल्ने भएको जनाए ।

नेपाल राष्ट्र बैंकसँग समन्वयन भइरहेकाले राष्ट्र बैंकको स्वीकृतिपछि संघले जानकारी गराउने पनि शर्माले बताए । एटीएम र डिजिटल च्यानलबाट कारोबार गर्नसमेत उनले सबैलाई आग्रह गरे । बैंकिङ सेवा बन्द गर्दा राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने भएकाले छलफलपछि निर्णय गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्