चौतर्फी आलोचनापछि नेकपाले पनि अब दसैँ भत्ता फिर्ता गर्ने

काठमाडौं , कार्तिक ३। कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैँ खर्च लिएको समाचार आएपछि अहिले सांसदहरुको चौतर्फी आलोचना भइरहेको छ । यस्तो आलोचना बढेसँगै नेकपाले पनि अब दसैँ भत्ता नलिने भएको छ ।

चौतर्फी आलोचनापछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका ९नेकपा० ले आफ्ना सांसदहरुको खातामा आएको दसैँ भत्ता वापतको रकम फिर्ता गर्ने भएको हो । नेकपा संसदीय दलले त्यसबारेमा पार्टी नेतृत्वसँग छलफल गरेर चाँडै निर्णय गर्ने तयारी गरेको छ ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वागले पार्टी नेतृत्वसँग यसबारे छलफल भइरहेको भन्दै संसदीय दलले यसबारे चाँडै निर्णय गर्ने जानकारी दिए । उनले दसैँ भत्ता फिर्ता गर्ने विषयमा शीर्ष नेताहरुसँग छलफल भइरहेको भन्दै चाँडै टुंगोमा पुुग्ने पनि बताए ।

आलोचना बढेपछि कतिपय सांसदहरुले व्यक्तिगत रुपमै भत्ता फिर्ता गरेको घोषणा गरेका छन् । तर, यसरी व्यक्तिगत निर्णय गरेर सांसदहरुले ‘सेलिब्रेटी’ बन्ने काम गरेको भन्दै पार्टीभित्र आलोचना पनि भएको छ ।

‘मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णयअनुसार संसद सचिवालयले यो वर्षको भत्ता सांसदहरुको खातामा पठाएको थियो ।

यसैबीच यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सबै सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको छ।सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्