भारतमा कोरोना : एक लाख २० हजारको मृत्यु, ७९ लाख ९० हजार संक्रमित

काठमाडौं, कार्तिक १२ । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन्। यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ६ लाख १० हजार ८०३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन्।

विगत २४ घण्टामा ५०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ। भारतमा कोभिड–१९ को संक्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० जना पुगेको छ।

मन्त्रालयले भारतमा कूल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ। साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १६९, फ्रान्समा ५११, बेलायतमा ६४४ र संयुक्तराज्य अमेरिकामा ६६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्