क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो सातादेखि सुरु हुने

काठमाडौं, कात्तिक २१ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मंसिर दोस्रो सातादेखि सुरु हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले अनुमति दिएको जनाएको छ ।

राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण सुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उहाँले उल्लेख गर्नुभयो ।

कोरोनाभाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षणविहीन अवस्थामा छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्नेछन् ।हाल क्रिकेट खेलाडी काठमाडौं तथा कतिपय उपत्यका बाहिर रहेका छन् ।

प्रशिक्षणअघि सबै खेलाडीको स्वाब परीक्षण गरिने र त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले बताउनुभयो ।खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खन्डमा होटल तथा गेस्टहाउसमा राख्न सकिने उहाँको भनाइ छ ।

यसअघि, क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण भदौ १ गतेदेखि थाल्ने योजना बनाएको थियो । कोरोना महामारी बढ्दै गएपछि प्रशिक्षण स्थगन गर्नुपरेको थियो ।

प्रशिक्षणका लागि क्यानले २४ भन्दा बढी खेलाडीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । खेलाडी सहभागिताको निर्णय प्राविधिक समितिले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्