अवैध रूपमा भारत पसेका चार नेपाली पक्राउ

काठमाडौं, कार्तिक २६ । अवैध रुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिकाका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरा रहेका भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए ।

सीमानाका बन्द भएका बेला ट्युबबाट भारत गइरहेका चार जनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको र उनीहरु चारैलाई आज अदालतमा पेश गरिने जनाइएको छ ।

सीमानाका झुलाघाट बन्द हुँदा रोजगारीका लागि भारत जानेहरु महाकालीमा ट्युबमार्फत जाने गरेका छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै सैयौं मजदुर कोरोना कहरका बीच भारत गईरहेका छन् ।

झुलाघाट नाका बन्द हुँदा उनीहरु महाकालीमा ट्युबमा मार्फत तरेर भारत जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्