छायांकन र हल खोल्ने अनुमति दिन निर्माता संघको आग्रह

काठमाडौं, कार्तिक २७ । नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारसँग आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो ।

अहिले लकडाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्रलाई भने अहिलेसम्म सञ्चालनको अनुमति दिएको छैन । यसरी अहिले चलचत्रि क्षेत्र बन्द हुँदा प्रत्यक्ष रुपमा ३५ हजार र यस क्षेत्रमा आश्रित एक लाख ७५ हजारभन्दा बढी व्यक्ति बेरोजगार बसेको संघका अध्यक्ष आकाश अधिकारीले बताए ।

अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष अधिकारीको भनाई छ ।चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, वेशभूषाको समिश्रण भएको उल्लेख गर्दै उनले यस्तो महत्त्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको भन्दै गुनासो गरेका छन् ।

धेरै समयमा उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलायन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।अहिले लकडाउन खुकुलो भए पनि धेरै क्षेत्र बन्द छन् । विशेषगरी बढी भिड हुने क्षेत्रहरु विद्यालय, मठ मन्दिर, चलचित्र क्षेत्रहरुलगायत बन्द छन् ।

 

प्रतिक्रिया दिनुहोस्