जोखिम भत्ता नपाएपछि ७ जना डाक्टरले दिए राजीनामा

काठमाडौं , कार्तिक २७ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले जोखिम भत्ता नपाएको भन्दै राजीनामा दिएका छन्।उनीहरुले जोखिम मोलेर काम गरेपनि तीन महिनादेखि भत्ता नपाउँदा राजीनामा दिएको बताए।

लुम्बिनी प्रदेश सरकारको लापरवाहीका कारण उनीहरुले भत्ता पाउन नसकेको गुनासो गरे।अस्पतालले नौ जना मेडिकल अफिसरलाई करारमा राखेको भएपनि दुई जनाले यसअघि नै अस्पतालप्रति असन्तुष्टी जनाउँदै काम छाडिसकेका थिए। उनीहरु लुम्बिनी प्रदेश सरकारको बजेट व्यवस्थापनमा राखिएका करारका मेडिकल अफिसरहरु हुन्।

कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै जोखिम मोलेर काम गरिरहेका डाक्टहरुले नै भत्ता नपाएको गुनासो गरेका छन्।यता अस्पतालमा करारमा कार्यरत ७ जना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता वापतको रकम पठाए पनि आफूहरुले नपाएको एकजना मेडिकल अधिकृतले बताए।

तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएको जनाइएको छ। प्रदेश सरकारले समयमा बजेट नपठाएका कारण जोखिम भत्ता दिन नसकिएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनको भनाई छ। दसैं अघि पनि तीन महिनासम्म मासिक पारिश्रमिक र जोखिम भत्ता नपाउँदा नौ जना स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका थिए।

सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरेको छ। तर, बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले तीन महिनादेखि जोखिम भत्ता पाएका छैनन्।अस्पताल प्रशासनलाई पटक(पटक जानकारी गराउँदासमेत सुनुवाई नभएपछि जागिर छोड्न बाध्य भएको उनीहरुको भनाई छ।

मेडिकल अफिसरहरुले राजीनामा दिएपछि बुटवल कोरोना विशेष अस्थायी अस्पतालको उपचार सेवा प्रभावित हुने देखिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले तिहारलगत्तै जोखिम भत्ता दिने अस्पतालले प्रतिबद्धता जनाए पनि मेडिकल अधिकृत काममा नफर्किँदा सेवा प्रभावित भएको बताए।

उता मन्त्रालय र प्रादेशिक अस्पतालले आग्रह गरे पनि काम छाडेका मेडिकल अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन्।अस्पतालमा ५ वटा भेन्टिलेटर, १६ वटा मोनिटर, १६ वटा आइसियु र ३६ वटा साधारण बेड रहेका छन्।

प्रतिक्रिया दिनुहोस्