विभाजनको संघारमा नेकपा: नेताहरुको दौडादौड , प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, मंसिर ३ । बुधबार दिउँसो २ बजेका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओली यतिबेला शीतल निवास पुगेका छन्।सत्तारुढ दल नेकपा तथा प्रधानमन्त्री केपी शर्मा ओली कठिन मोडमा पुगेका बेला राष्ट्रपति निवास शीतल निवासमा चहलपहल बढेको छ।

यतिबेला प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल जारी रहेको शीतल निवास स्रोतले जानकारी दिएको छ। शीतल निवासमा प्रधानमन्त्रीका साथमा संविधानसभाका सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि पुगेका छन्।

शीतल निवासमा दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याउने विषयमा छलफल भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेशको मस्यौदाका लागि कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई निर्देशन दिएका छन्।
अहिले फेरि नेकपामा विवाद चर्किएका बेला सरकारले अध्यादेश ल्याउन लागेको हो। मौजुदा संविधानमा दल विभाजन गर्न संसदीय दलमा र केन्द्रीय कार्यसमितिमा कम्तिमा ४० प्रतिशत पुर्याउने व्यवस्था छ।

प्रधानमन्त्री ओलीको नेकपाको संसदीय दलमा ४० प्रतिशत पुग्ने अनुमान छ, तर केन्द्रीय कमिटीमा ४० प्रतिशत नपुग्ने भएपछि अध्यादेशमार्फत कानून बनाएर पार्टी विभाजनलाई सहज बनाउन लागिएको हो। यता पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपाभित्र नेताहरुको दौडादौड सुरु भएको छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शितल निवास पुगेपछि ओली पक्षीय नेताहरुको अनौपचारिक बैठक बालुवाटारमा जारी छ। यसैबीच सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबारका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने भनिएको थियो । तर, अहिले सो बैठक एक घण्टापछि २ बजे बस्ने जानकारी प्राप्त भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।

बुधबार एक बजे नै पार्टी सचिवालय बैठक तय भएको छ। एकाएक प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ। यसअघि प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार राति भेट भएको थियो।

प्रतिक्रिया दिनुहोस्