शीर्ष नेताहरूलाई भीम रावलको चेतावनी – पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलागौं

काठमाडौँ, मंसिर ३ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुट्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

नेकपाको सचिवालय समितिको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने तयारी छ ।सचिवालय बैठक बस्ने दिन उनले पार्टी फुट्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका हुन्।त्यसअघि बिहान नेता रावलले सामाजिक सञ्जालमार्फत पार्टी नफुटाउन भन्दै नेताहरूलाई चेतावनी दिएका छन् ।

‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो,’ ट्विटरमा नेता रावलले लेखेका छन्।’

चेतावनी दिँदै अगाडि लेखेका छन्, ‘बैठकबाट समस्याको समाधान खोज्नुपर्छ। फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।’ यता सत्तारुढ दल नेकपा तथा प्रधानमन्त्री केपी शर्मा ओली कठिन मोडमा पुगेका छन् ।

यसै बेला राष्ट्रपति निवास शीतल निवासमा चहलपहल बढेको छ। नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबारका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्