भारतको नयाँदिल्लीमा कडा नियम : मास्क नलगाउनेलाई दुई हजार जरिवाना

काठमाडौं, मंसिर ५ । भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भएको राज्य नयाँदिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कडा नियम लागू गरिएको छ ।

पछिल्लो १५ दिनमै एक लाख नयाँ संक्रमित थपिएको दिल्लीमा मास्क नलगाए दुई हजार जरिवाना हुने र वैवाहिक समारोहमा ५० जनामात्रै सहभागी हुन पाउने गरी नियम लगाइएको हो ।

भारतको राजधानी सहरसमेत रहेको दिल्लीमा कोभिड– १९ को तेस्रो लहर चलेको छ । संक्रमण नियन्त्रणबाहिर गएपछि बिहीबार दिल्ली सरकारले मास्क नलगाउनेलाई दुई हजार जरिवाना लगाउने निर्णय गरेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले दिल्लीका उपराज्यपाल अनिल बैजलसँग भेट गरी मास्क नलगाउने व्यक्तिलाई दुई हजार जरिवाना लगाउने निर्णय सरकारले गरेको बताए ।

दिल्ली सरकारले कोरोना महामारी बढेपछि बढी भिडभाड हुने बजारहरूमा लकडाउन गर्ने प्रस्ताव पहिल्यै नै गरिसकेको छ ।

सार्वजनिक क्षेत्रमा छठ पर्व मनाउन पनि रोक लगाइएको छ । त्यसैगरी वैवाहिक समारोहमा यसअघि दुई सयजनाको भेलालाई अनुमति दिइएकोमा अब भने ५० जना मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

दुई हप्ताको अवधिमा दिल्लीमा एक हजार दुई सय दुईजनाको निधन भएको छ । दिल्लीमा अहिलेसम्म संक्रमित हुनेको संख्या पाँच लाख तीन हजार ८४ पुगेको छ ।

अहिलेसम्म ज्यान गुमाउनेको संख्या सात हजार नौ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्