मालपोत र नापीका सेवालाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री अर्याल

काठमाडौं, मंसिर ५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री बनाउँदै लगिएको बताएकी छन् ।

स्याङ्जाको वालिङमा आज मालपोत कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । उनले मालपोत र नापी कार्यालयको छवि बदल्नका लागि सफलता प्राप्त हुँदै गएको र सो कुरा कार्यालयबाट हुने सेवाप्रवाहबाट पुष्टि हुँदै गएको जिकिर गरिन ।

“सुशासन कायम गर्नका लागि नयाँ प्रविधिको प्रयोग गर्नु आवश्यक छ”, मन्त्री अर्यालले भनिन्, “नयाँनयाँ प्रविधिको प्रयोगसँगै सेवाग्राहीमैत्री बनाउँदै लगिएकाले मालपोत कार्यालयबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीले सहजै सेवा लिन सक्नुहुनेछ ।” देशभर हाल १३१ मालपोत र नापी कार्यालय छन् ।

ती कार्यालयलाई नमूनाका रुपमा अगाडि बढाउँदै लैजाने मन्त्री अर्यालले बताइन । “प्रविधिको प्रयोगका लागि दक्ष जनशक्तिको अभाव हाम्रा लागि चुनौतीका रुपमा रहेको छ”, मन्त्री अर्यालले भने, “जनशक्तिलाई आवश्यक तालीम तथा प्रशिक्षण प्रदान गरी अगाडि बढ्छौँ जसले गर्दा सेवा प्रवाह थप प्रभावकारी हुनेछ ।”

कार्यसम्पादनका लागि विभिन्न कानूनी झन्झटिला रहेकाले त्यसलाई संशोधन गर्दै स्थानीय तहमा सेवा हस्तान्तरण गरिने मन्त्री अर्यालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्