अध्यक्ष तिमिल्सिनाले सांसदलाई भने – भोट माग्न गए जसरी कोरोनाबारे सचेतना फैलाउँदै घर–घर पुग्नुहोस्

काठमाडौं, मंसिर ६ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको बताएका छन्।

‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

उनले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घर(घरमा पुग्नुपर्ने बताए ।

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्य सम्बन्धी सचेतना फैलाउनुपर्ने बताए। यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्यमाथि समेत बलियो आधार तयार हुने उनको भनाई छ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलो मै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए।

प्रतिक्रिया दिनुहोस्