नेप्सेमा सामान्य वृद्धि, करिब ७ अर्बको कारोबार, अहिलेसम्मकै उच्च

काठमाडौं , मंसिर ७ । साताको पहिलो दिन तीव्र उतारचढाव देखिएको सेयर बजारमा अहिलेसम्मकै उच्च करिब सात अर्बको कारोबार भएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ४.६९ अंकले वृद्धि भएर १७८२.८१ अंकमा बन्द भएको छ ।

बजार परिसूचक नेप्से सामान्य वृद्धि हुँदा ६३ हजार ३२४ वटा कारोबारबाट २०१ कम्पनीको एक करोड ५९ लाख ६५ हजार ५२६ कित्ता सेयर किनबेच भएको छ । जसकारण अहिलेसम्मकै उच्च ६ अर्ब ८७ करोड ८७ लाख ८८ हजारको कारोबार भएको छ ।

बैंकिङ, विकास बैंक र अन्य समूहको सूचकबाहेक सबै सूचक राताम्यै देखिँदा नेप्से भने सामान्य बढेको छ । लगातार रुपमा उच्च दरमा बढिरहेको व्यापार समूहको सूचक आज ५.६९ अंकले घटेको छ । यस्तै होटेल समूहको सूचक ३.९९ प्रतिशत, जीवन बिमा समूहको सूचक २.५१ र निर्जीवन बिमा समूहको सूचक २.५३ प्रतिशतले घटेको छ ।

अघिकांश समूहको सूचक रातो देखिए पनि बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक दोहोरो २९.४४ अंकले वृद्धि हुँदा नेप्से पनि सकारात्मक भएर बन्द भएको छ । यस्तै विकास बैंक समूहको सूचक १३.४६ अंक र अन्य समूहको सूचक १.३५ अंकले बढेर बन्द भएको छ ।

आइतबार कारोबार खुलेदेखि नै उतारचढाव देखिएको नेप्से ११ बजेर ११ मिनेटमै ३२ अंकले वृद्धि भएर १८१२ अंकसम्म पुगेको थियो । कारोबार अवधिभर उतारचढाव कायम रहेको नेप्से २ बजेर २२ मिनेटमा १८६१ अंकसम्म झरेको थियो । तर अन्तिम समयमा नेप्से पुनस् सुधार भएर गत साताको भन्दा सामान्य वृद्धि भएर बन्द भएको छ ।

अघिल्लो साता लगातर बढेको उत्पादन व्यापार र बिमा क्षेत्रका लगानीकर्ताले नाफा बुक गर्दै बैंकिङ क्षेत्रमा लाग्दा कारोबार रकम अहिलेसम्मकै उच्च भएको छ । नेप्सेमा पनि तीव्र उतारउढाव देखिएको छ । लगानीकर्ताले अब बैंकिङ क्षेत्र रोजेको देखिन्छ ।

बैंकिङ सूचक दोहोरो अंकले बढे पनि बजारको नेतृत्व नेपाल पुनर्बिमा कम्पनीले गरेको छ । कम्पनीको ५८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी र नेपाल बैंक कारोबार रकममा अगाडि छन् ।

सर्वाधिक कमाउनेमा भने जानकी फाइनान्स, प्रभु बैंक, नबिल बैंक, अजोड इन्स्योरेन्सका लगानीकर्ता छन् । नबिल बैंकको सेयर मूल्य ६० रुपैयाँले बढेर ९६५ मा बन्द भएको छ । वाणिज्य बैंकमा सबैभन्दा धेरै बजार पुँजीकरण भएको नबिल बैंकको सेयरमूल्य ६ प्रतिशतमाथिले वृद्धि हुँदा बैंकिङ सूचक दोहोरो अंकले बढेको छ । अधिकांश वाणिज्य बैंकको सेयर मूल्य बढेको छ ।

गुमाउनेमा भने माउन्टेन हाइड्रो, साल्ट ट्रेडिङ कर्पोरेसन, राष्ट्रिय बिमा कम्पनी पोखरा फाइनान्सका लगानीकर्ता छन् । पछिल्लो केही सातादेखि लगातार सकारात्मक सर्किट लाग्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य आज भने ६ प्रतिशतमाथिले घटेको छ ।

सेयर खरिदबिक्री रकमले आइतबार फेरि अर्को नयाँ कीर्तिमान कायम गरेको छ । यसअघि बिहीबार हालसम्मकै धेरै रकमको सेयर कारोबार भएको थियो । सो रेकर्ड आइतबार फेरि तोडिएको छ । सर्वसाधारण लगानीकर्ता उत्साहित हुँदै जाँदा सेयर बजारमा कारोबारका नयाँ कीर्तिमानहरु बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्