प्रधानमन्त्री ओलीले गरे चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल, गर्दैछन् यस्तो तयारी

काठमाडौँ , मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । आइतबार दिउँसो उनले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर सामूहिक छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा। गणेश अधिकारी सहभागी थिए ।

यद्यपी सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको भन्ने विषय सार्वजनिक भने गरिएको छैन । बालुवाटार स्रोतका अनुसार चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाएपनि पार्टीभित्र विवाद रहेको बेला भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै गएको र प्रधानमन्त्री ओलीले कठोर कदम चाल्न सक्ने संकेत गरिरहँदा यसलाई निकै चासोका साथ हेरिएको छ । पछिल्लो समय आफ्नै पार्टी नेकपाभित्रको विवादले चर्को रुप लिएको समयमा उनले छलफललाई तिब्रता दिएका छन् ।

यता नेकपाभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री अ‍ोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समिकरणको प्रस्ताव गरेसँगै सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्