जसपाले भन्यो- भारतसँग जोडिएका सीमानाका तत्काल खुला गरियोस्

काठमाडौं , मंसिर ९ । जनता समाजवादी पार्टी (जसपा) ले भारतसँग सीमा जोडिएका नेपालका सबै नाका खोल्न माग गरेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले सोमबार विज्ञप्ति जारी गर्दै भारतसँग जोडिएका सीमानाका तत्काल खुला गरी व्यवस्थित र सहज गर्न माग गरेका हुन् ।

उनीहरुले लामो समयदेखि सीमानाका बन्द हुँदा मुलुकको अर्थतन्त्र धराशायी भएको र सीमा क्षेत्रका नागरिकको जीवन कष्टकर भएको भन्दै जनताको जीवनलाई थप कष्टकर हुन नदिन भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको थियो ।

त्यस्तै, जसपाले कोरोना महामारी नियन्त्रणका लागि योजनाबद्ध रुपमा प्रभावकारी ढंगले काम गर्न पनि ध्यानाकर्षण गराएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधिको उचित व्यवस्थापन यथाशीघ्र गर्न पनि जसपाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्