दशककै एशोसिएट प्लेयर अवार्डको मनोनयनमा परे पारस खड्का

काठमाडौं , मंसिर ९ । नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् । मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् ।

सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका गिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो ।

२८ असोज २०७६ मा उनले कप्तानी छाडे । तर राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन् ।

यता आईसीसीले अवार्डका लागि भोटिङ खुल्ला गरिसकेको छ । आईसीसीको वेबसाइटमार्फत अवार्डको मनोनितमा परेकाहरुलाई भोट गर्न सकिने छ ।

आइसीसीले भोटमार्फत मनोनित छ जनाबाट दशकको उत्कृष्ट क्रिकेट खेलाडी छनोट गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्