काठमाडौं उपत्यकाका विद्यालय तत्काल नखुल्ने

काठमाडौं , मंसिर १२ । कोरोना भाइरसको जोखिम कम नभएकोभन्दै काठमाडौंमा तत्काल विद्यालय सञ्चालन नगरिने भएको छ । कक्षा १२ को परीक्षा सकिएपछि मात्रै उपत्यका मेयर फोरमको बैठकले यसबारे छलफल गरेर के गर्ने भन्ने विषयमा निर्णय गर्ने छ ।

काठमाडौं महानगरपालिकाले कोरोना जोखिम उच्च रहेकाले तुरुन्तै विद्यालय सञ्चालन गर्न नसकिने जनाएको हो । पहिलेको तुलनामा कोरोना संक्रमणदर कम भएपनि जोखिम कायमै रहेको उल्लेख गर्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो।

कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई विद्यालय सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिएको छ। अहिलेसम्म विद्यालय सञ्चालन गर्नका लागि कुनै पनि विद्यालयले अनुमति नमागेको काठमाडौं महानगरका शिक्षा विभागले जनाएको छ ।

अहिले काठमाडौं महानगरमा ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, पाँच सय ४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्