प्रभु लाइफ इन्स्योरेन्सले पायो आइपिओ निश्कासन गर्न स्वीकृति

काठमाडौं, मंसिर १२ । प्रभु लाइफ इन्स्योरेन्सले प्राथमिक सेयर (आइपिओ) निश्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।कम्पनीले १ सय अंकित दरमा ६० लाख कित्ता सेयर निश्कासन गर्नेछ।

बीमा कम्पनीहरुले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने प्रावधानअनुरुप कम्पनीले कुल रजिस्टर्ड २ करोड कित्ता सेयरमध्ये सो संख्याको सेयर सर्वसाधारणका लागि निश्कासन गर्ने भएको हो।

१ करोड ४० लाख कित्ता संस्थापक सेयर रहेको छ।कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार ३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीले २ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीको सेयर व्यवस्थापकको जिम्मा सिद्धार्थ क्यापिटलले लिएको छ। बीमा समितिबाट पछिल्लो पटक स्वीकृति पाएका बीमा कम्पनीहरु धमाधम प्राथमिक सेयर निश्कासनको तयारीमा छन्।

यसअघि अजोड इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई सेयर निश्कासन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्