काठमाडौंको तापक्रम ५.४ डिग्री सेल्सियस, कस्तो रहला आजको मौसम ?

काठमाडौं , मंसिर १५ । काठमाडौंको आज विहानको तापक्रम ५.४ डिग्री सेल्सियस रहको छ । यसअघि आइतबार बिहान ४.८ डिग्री सेल्सियस तामक्रम मापन गरिएको थियो ।

“बिहान ६ बजे काठमाडौंको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो यो तापक्रम बढेर २०—२२ डिग्री सेल्सियस पुग्ने सम्भाना रहेको छ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन् ।

काठमाडौं उपत्यकाको आजको मौसम सफा रहने उनको भनाइ छ । माथिल्लो पहाड र हिमाली क्षेत्रमा पनि आज मौसम सफा रहने छ । वर्षा तथा हिमपातको सम्भावना छैन ।

“तराईका जिल्लामा अहिलेसम्म त्यति धेरै हुस्सु देखिएको छैन । तर घाम लागेपछि भिजिबिलिटी पनि कम हुनसक्छ,” मानन्धर भन्छिन्, “आजका लागि खासै बदली नदेखिए पनि भोलि र पर्सी बादल लाग्ने देखिएको छ । त्यसैले उक्त समयमा भने भिजिबिलिटी कम हुनसक्छ । त्यसको असर सडक तथा हवाई यातायातमा पर्न सक्छ ।”

जल तथा मौसम विज्ञाव विभागका अनुसार आगामी २४ घण्टामा देशका धेरै स्थानमा वायुको तापक्रममा गिरावट आउने छ । तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

भोलि साँझबाट मौसममा बदली आउने र जसका कारण तराईका जिल्लामा भिजिबिलिटी कम हुँदै जाने मौसमविद् मानन्धरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्