नेकपा सचिवालय बैठक सकियो, आज पनि लागेन विवाद समाधानबारे टुंगो

काठमाडौं, मंसिर २० । नेकपाको सचिवालय बैठक सकिएको छ।प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठक करिब तीन घण्टा बसेपछि सकिएको हो।बैठकले पार्टीमा देखिएको विवाद समाधान गर्न नसकेपछि सबै प्रस्तावसहित स्थायी कमिटीको बैठकमा छलफल गरिने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेस भएका सबै प्रतिवेदन लगिने निर्णय सचिवालयले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा पुगेको हो । शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको बताए । निर्णयअनुसार आइतबारको स्थायी समितिमा दुबै प्रस्ताव पेश हुनेछ ।

उनका अनुसार आइतबार एकबजे स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्नेछ । आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन ।आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्