अध्यादेश जारीपछि नेकपामा हंगामा , प्रचण्ड निवासमा नेताहरुको गोप्य भेला

काठमाडौं, मंसिर ३० ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद ( काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरीन् । यसपछि अध्यादेशले नेकपामा हंगामा मच्चिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् भने यता नेपाली कांग्रेसले पनि यसको विरोध गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् बैठकमा नजाने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले ल्याएको अध्यादेश विवादित भएसँगै उनले बैठकमा नजाने घोषणा गरेका हुन् ।साथै उनले अध्यादेश अलोकतान्त्रिक कार्य भएको भन्दै आफू बैठकमा नजाने बताएका हुन् ।

यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पनि गुट भेला जारी छ।खुमलटारमा नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छलफलमा रहेका छन्। प्रधानमन्त्री ओलीले संवैधानिक निकायबारे सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन्।

ओलीको यस्तो राजनीतिक कदमसँगै नेकपाभित्रको किचलो थप जटिल मोडमा पुगेको छ भने मुलुकको राजनीतिक भविष्य पनि अन्यौलतातर्फ धकेलिएको छ। खुमलटारको गुट भेलाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कदमविरुद्ध निर्णय लिनसक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्